Welcome to Devdaha

An official Devdaha Tourism Site

देवदह महोत्सवले सरनबारीलाई उजागर गर्दै

देवदह, माघ १७ । रुपन्देहीको देवदहमा संचालित चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ ले देवदहको पर्यटनलाई विशेष महत्व दिएको छ । विशेषगरी देवदह महामानव गौतम बुद्धको मावली गाँउ भएकाले पनि यस क्षेत्रमा रहेका ऐतिहासिक पाकरी बृक्ष, देउताहरु नुहाउने देव दह, बुद्धको जन्मस्थल लुम्बिनी र मावली गाउँ देवदह, रामग्राम लगायतका स्थानहरुको फोटो प्रर्दशनीले देवदह मेलालाई थप आकर्षित गरेको छ । मेलामा अर्गानिक कृषिको पकेट क्षेत्रको रुपमा परिचित सरहनटाढी गाउँलाई पनि चित्रको माध्यमबाट उतारेर प्रर्दशनीमा राखिएको छ ।
बुद्धकै पालाको मानिएको ऐतिहासिक पाकरी बृक्ष अलौकिक र विशाल वृक्षको रुपमा लिने गरिन्छ । करिब ३० मिटर परिधि र ३० मिटर उचाई भएको पाकरी वृक्षले झन्डै ४ कठठ जमिन ओगेटेको छ । गिद्ध जातका चरा नबस्ने, रुखको नजिक हात्ति नजाने यस वृक्षका विशेषताहरु रहेको पाइन्छ । जसको स्वरुपलाई प्रर्दशनीमा राखिएको छ । त्यसैगरी गौतम बुद्धकै पालाको भनिने दह प्राचिनकालमा ऋषिमुनीहरुले स्नान गर्ने गरेको बिभिन्न किम्बदन्तीहरुमा उल्लेख गरिएको पाइन्छ । सेतो, रातो र गुलाबी फुलहरु फुल्ने भएकाले देवदहलाई बौद्ध धर्ममा मंगल पुष्कारिणीको रुपमा पनि मानिएको पाइन्छ ।
देवदहमा लाग्ने मेलाले कृषि तथा पर्यटन क्षेत्रलाई उजागर गर्नको लागि बिषेश महत्व राख्ने हुदा मेलाको सार्थकता रहने मेला मुल आयोजक समितिका अध्यक्ष गोविन्द ठड्राईले बताए । उनले मेलाबाट उठेको रकमको केही प्रतिशत रकम देवदहको पर्यटन क्षेत्रमा सहयोग गर्ने समेत बताए । उनी भन्छन्– हाम्रो उद्धेश्य भनेको नै स्थानिय रुपमा रहेका कृषि र पर्यटनलाई प्रर्बद्धन गर्ने हो, यो भन्दा पहिला गरेको मेलाबाट उठेको रकमबाट हामीले पाकरी वृक्षलाई संरक्षण गर्नको लागि गेट निमार्ण गरेका थियौ, अहिले पनि हामीले केही पर्यटनलाई सहयोग गर्ने सोच बनाएका छौ ।

देवदहमा हुने मेला महोत्सवले देवदहको गरिमालाई उचो बनाउदै देवदहको विकास गर्न मद्धत पुगेको मेला पर्यटन प्रर्बद्धन उपसमितिका संयोजक सिद्धिचरण भट्टराईले बताए । उनले उद्योग व्यापार संगठनले आयोजना गरेको मेलामा सरनबारी विकासलाई देखाउन खोजिएको बताए । उनी भन्छन् –देवदहको खैरेनीदेखि सरनबारी हुदै माथागढी जाने बाटोको रुपमा केबुलकारको विकास आवश्यक रहेको र अबको केही बर्षको विकासमा यो कार्यले पनि पूर्णता पाउने बताए ।
महोत्सवले सरनबारीलाई विशेष प्राथामिकतामा राखेका मेला मूल आयोजक समितिका सचिवालय संयोजक एवंम् व्यापार संगठनका सह–सचिव थानेश्वर लम्सालले बताए । उनले –भने पहिला पाकरी बृक्षलाई प्राथामिकतामा राखेर हामीले प्रथम देवदह महोत्सव संचालन गरेका थियौ भने अहिले सरनबारीलाई प्राथामिकतामा पारेर मेला संचालन गरेका छौ ।
राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने नाराका साथ देवदह नगरपालिका बुद्धनगरमा मेला सञ्चालन भइरहेको छ । माघ ११ गते देखि २१ गते सम्म संचालन भएको मेलामा देवदह नगरलाई ऐतिहासिक, धार्मिक एवं पर्यटकिय स्थलको रुपमा विकास गर्ने, दुग्ध उत्पादक कृषकहरुलाई दुग्ध जन्य बस्तुहरुको उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको मेला आयोजना मुल समारोह समितिका संयोजक गोविन्द ठड्राईले बताए । २ लाख दर्शक र १० करोड मुल्य बराबरको कारोबार हुने लक्ष्य आयोजकले राखेको छ ।

 

You Might Also Like